नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
जिप दुर्घटनमा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका मन्त्री सिंहको निधन भएको हो ।
प्रदेश मन्त्री सिंह सवार सुपप्र १००१ झ ४८ नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।
प्रदेश मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।
यसअघि दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।