नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असार ।
गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहीबार राति करिब एक बजे गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
चिलिङकोटस्थित केटीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच जनाको मृत्यु भएको र घाइतेको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८/१९ जना सवार थिए भन्ने खुलेको छ ।’ जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।