नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
नेपालमा आज (आइतबार ) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार १०० रहेकोमा शुक्रबार रु १ लाख ९ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ५५० सय रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ९ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ३७० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले जेठ १९ गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० मा कारोबार भएको थियो ।