नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाएको हो ।
निगमले पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको १६५ रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १६९ र तेस्रो वर्गका क्षेत्रमा १७० तोकिएको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु १४९ र तेस्रो वर्गका क्षेत्रमा रु १५० निर्धारण गरिएको निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु १७५, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५५ थियो ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) को रु १३६ र हवाई इन्धन (बाह्य)को एक दशमलव १३५ अमेरिकी डलर कायम भएको छ । यसअघि हवाई इन्धन (आन्तरिक) को रु १५० र हवाई इन्धन (बाह्य)को एक दशमलव १५० थियो । यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।
भारतीय आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यसूचीका अनुसार सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।
सूची :