नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । डोटी, आदर्श गाउँपालिका-२ मौवामा बा.१ झ ९४३९ नम्बरको जिल्ला समन्वय इकाई कार्यालय डोटीको जिप अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही गाउँपालिका-१ स्याउले बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मौवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
त्यस्तै झापा, शिबसताक्षी नगरपालिका-१ कमल पुलस्थित सडकमा प्र.१-०१-००२ ह २६७ नम्बरको अटो र मे.७ प ८५९४ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका-७ बस्ने ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बीएनसी अस्पताल बिर्तामोडतर्फ लगिएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पाँचथर, फिदिम नगरपालिका-३ लालिखर्कमा प्रदेश २-०३-००१ ख ४८०७ नम्बरको गाडीको ठक्करबाट फाल्गुनन्द गाउँपालिका-२ इम्बुङ बस्ने २३ वर्षीय दिल कुमार लिम्बूको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता सिराहा, गोलबजार नगरपालिका-१२ हरिपुर टोलस्थित सडकमा प्र.३-०१- ००३ क ७५२० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीय पंकज महतोको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।