नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-१ टुकुचे र चोखेपानीको बिचमा पर्ने कालिगण्डकी नदीको किनारमा बागलुङ ढोरपाटनन नगरपालिका-५ बस्ने ४५ वर्षीय ओम प्रसाद सिरपाली शनिबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, गौरादह नगरपालिका-९ स्थित किस्ने खोलामा सोही नगरपालिका-२ बस्ने आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरिया शनिबार मृत अवस्थामा फेला परेका छन् ।
किस्ने खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौरादह र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । यस्तै काभ्रे, रोशी गाउँपालिका- ७ र नमोबुद्ध नगरपालिका-५ को सिमानास्थित रोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता रुपन्देही, कञ्चन गाउँपालिका-४ अस्नैया बस्ने किसन शाहीको छोरा ७ वर्षीय लक्ष्मण शाही सोही गाउँपालिका-४ भैरवघाटस्थित कञ्चन खोलाको नहरको जालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ कामी टोल बस्ने ४० वर्षीय उद्वव बुढाथोकी सोही ठाउँस्थित उखुबारी नजिकै शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी स्याङ्जा, चापाकोट नगरपालिका-८ ज्याक्दिघाटस्थित कालिगण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।