नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ५० वर्षीय बिकाश लामा आफ्नै घरको भन्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै लमजुङ, मर्स्याङदी गाउँपालिका-६ नाईचेस्थित निर्माणधिन सुपर ङादी हाईड्रोपावरमा काम गर्ने तेह्रथुम ठटरा गाउँपालिका-६ घर भएका ३६ वर्षीय प्रकाश किरण लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, बबई गाउँपालिका-७ स्थित डेरा गरी बस्ने सरस्वती माध्यमिक विद्यालय चरकमाटियाका प्रधानाध्यापक सल्यान गंगादेबी गाउँपालिका-१ घर भएका ३७ वर्षीय ललित केसी आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कास्की, पोखरा महानगरपालिका-३१ माझथर घर भई सोही महानगरपालिका चौर बस्ने राहुल थापाको घरमा किसान काम गरी बस्ने ५० वर्षीय दामोदर तिवारी सोही ठाउँस्थित तालबेशी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता झापा, शिबसताक्षी नगरपालिका-७ लालपानीस्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला बुधबार मृत अवस्थामा शव फेला परेकी छन् ।
यता सुर्खेत, गुर्भाकोट नगरपालिका-९ तल्लो बोटेचौरस्थित भेरी नदीको किनारमा सोही नगरपालिका-४ सहारे बस्ने ५५ वर्षीया हिरा खड्का मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ धाउनेपानी खोल्सामा सोही महानगरपालिका-१३ भञ्ज्याङ बस्ने ८३ वर्षीया कुन्ती बास्तोला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत शनिबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकली चोक बस्ने दयाराम श्रेष्ठको शितलामाई कार्गो एण्ड सप्लायर्स प्रालिको प्रदेस नं. १-०२-००१ ख ९७०३ बलेरो गाडीका सहचालक सुनसरी बराहाक्षत्र-७ बस्ने ४० वर्षीय प्रताप बराईली सोही गाडीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।