नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका-२ छोटकी टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने २७ वर्षीया शोभा यादवको मंगलबार बिहान मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै पाँचथरको फिदिम नगरपालिका-२ कृष्ण मन्दिरस्थित सडकमा मे.१ ज १९४१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालकसहित १३ जनामध्ये ११ जनाको सोही अस्पताल र अन्य २ जनालाई थप उपचारका लागि झापातर्फ पठाइएको छ ।
यस्तै रौतहट, मौलापुर नगरपालिका-५ क्याम्पस चोकमा मधेस प्रदेश ०३-०२८ प ४३२६ नम्बरको मोटरसाइकल र ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल चालक पर्सा सखुवापर्सौनि गाउँपालिका-१ घर भएका ३५ वर्षीय सुनिल कुमार पासवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मौलापुरस्थित स्थानीय मेडिकल हुँदै बयोधा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको राज लक्ष्मी अस्पताल कलैयामा उपचार भइरहेको छ । यता पाँचथर, फिदिम नगरपालिका-२ ओदिनस्थित सडकमा प्र.१-०३-००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक झापा बिर्तामोड नगरपालिका-८ मेथिबारी घर भएका २४ वर्षीय युबराज अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी पर्सा, बहुदरमाई नगरपालिका-४ डकैला चोकमा ना.२६ प ४००२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बर्वाटोला बस्ने ७० वर्षीय जोगी पासवानको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।