नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, बिर्तामोड नगरपालिका-६ स्थित सडकमा प्र.१-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा चालक अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय पुकार केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरी, हरिनगरा गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय बच्चालाल मेहताको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य केन्द्र हरिनगरामा हुँदै गोल्डेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मोरङ, धनपालथान गाउँपालिका-४ मलिक टोलस्थित सडकमा बीआर-९००८५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय सिताराम मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।