नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।
नुवाकोट घर भई संघीय राजधानी काठमाडौंमा क्रियाशील पत्रकारिता गरिरहेका पत्रकारहरूको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रमेश जमकट्टेलको संंयोजकत्वमा समाजको नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । समाजको उपसंयोजकमा नवराज घिमिरे रहेका छन् ।
तदर्थ समितिका सदस्यहरूमा प्रशन्न ढुङ्गाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरिराम भेटुवाल, आशिष ढुङ्गाना, प्रयास श्रेष्ठ तथा प्रतिमा मुडभरी रहेका छन् ।
नुवाकोट जिल्लामा घर भई काठमाडौंमा क्रियाशील पत्रकारहरू एकीकृत भएर नुवाकोट जिल्लाको विकास निर्माणका कार्यहरूमा केही योगदान गर्ने उद्देश्यले समाज गठन गरिएको जनाइएको छ ।
संयोजक चयन भएपछि जमकट्टेलले कार्यक्रममा उपस्थित साथीहरूलाई सम्बोधन गर्दै समाज नुवाकोटलाई जोड्न सेतु बन्ने बताए । उनले भने– ‘राजधानी नजिकै भएर पनि नुवाकोट विकास र निर्माणका कार्यहरूमा धेरै पछि परेको छ । देखिएका समस्याहरूलाई पत्रकारिकताको माध्यमबाट समन्वय कायम गर्दै सहकार्य गर्ने सवालमा समाजको अहम् भूमिका हुनेछ ।’