नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । धनुषा, जनकनन्दनी गाउँपालिका-४ खजुरी चनाहा बस्ने ५५ वर्षीय जुगल मण्डल सोही गाउँपालिका-४ पसाहास्थित सार्वजनिक पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गुल्मी, मालिका गाउँपालिका-३ ह्वाङ्दी बस्ने ७० वर्षीय नन्दे विक सोही गाउँपालिका-३ दर्लिङबाट पोसेखोला जाने सडक भन्दा करिब ३ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, चुरे गाउँपालिका-४ बालुवागाडा बस्ने १६ वर्षीया सर्मिला तारामी मगर सोही ठाउँस्थित बालुवागाडा खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । नुहाउने क्रममा खोलाले बगाएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस्तै काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ कृष्ण मन्दिर गेट र बिनावन रेष्टुरेन्ट नजिक टहरा अगाडि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उता रोल्पा, रून्टिगढी गाउँपालिका-९ चौखे बस्ने १८ वर्षीय नन्दलाल चन्द आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता रामेछाप, उमाकुण्ड गाउँपालिका-४ लाप्चानेस्थित सुरेश प्रधान भन्ने दिल बहादुर श्रेष्ठको घरमा काम गर्दै आएका काठमाडौं महानगरपालिका-१६ बालाजु टौडल घर भएका ५० वर्षीय लामा बाजे भनि चिनिने पुरुष सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार सोही घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी दाङ, शान्तीनगर गाउँपालिका-१ खिलतपुर बस्ने २७ वर्षीया रेखा घर्ती बबई गाउँपालिका-६ सालघारीस्थित नहरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । मंगलबारदेखि घरबाट निस्केकी उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । त्यस्तै स्याङ्जा, आधीखोला गाउँपालिका-६ सम्दी गाउँ बस्ने ६८ वर्षीय भुवन बहादुर जिसी सोही गाउँपालिका-६ स्थित सम्दीखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।