नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, बेलका नगरपालिका- ७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूकुम मुसिकोट नगरपालिका-३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केसीले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक- पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पाल्पा, तानसेन नगरपालिका-८ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशालले बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।