मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा 

मछिन्द्र क्लब एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भुटानको पारो एफसी क्लबलाई ३-२ ले पराजित गर्दै मछिन्द्र क्लब प्रतियोगितको दोस्रो चरणमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता भने पारो एफसीले लिएको थियो । खेलको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै पारोलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको १८ औं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत सुन्दर गोल गरे ।



त्यस्तै खेलको १५ औँ मिनेटमा आयुष घलानले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । यस्तै खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्र पहिलो हाफमा ३-१ ले अघि रह्यो । उनले ओमोलाजा करिमको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल मछिन्द्रले ३-२ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा प्रवेश गर्यो । अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्नेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । यस खेलको विजेताले बङ्गलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग आगामी भदौ ५ गते खेल्नेछ ।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

 

 

सम्बन्धित समाचार