नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । नुवाकोट, तार्केश्वर गाउँपालिका-४ दर्शनटारस्थित त्रिशुली नदीको किनारमा धादिङ निलकण्ठ नगरपालिका-१४ बस्ने ४२ वर्षीया सरस्वती रिमाल बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै कैलाली, गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई सोही ठाउँस्थित खुटिया खोला नजिक पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोही खोलामा दाउरा निकाल्न भनी गएका उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
यस्तै बागलुङ, बागलुङ नगरपालिका-१४ ठुलाखर्क बस्ने १९ वर्षीया एलिसा सुनार सोही नगरपालिका-१४ सल्लाघारी भन्ने स्थानदेखि करिब ३ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट बुधबार हिँडेकी उनी घर नफर्किएकी भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङ, इलाका प्रहरी कार्यालय बलेवा, बिपद ब्यावस्थापन गुल्म बागलुङ र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म समेतबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।
यता कास्की, पोखरा महानगरपालिका-१७ पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-७ घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा १० वर्षीय सम्बोधन अधिकारीको बिहीबार बिहान मृत्यु भएको छ ।
उक्त नहरको कुलोमा पौडी खेल्ने क्रममा कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट संयुक्त रूपमा खटिएको उद्दार टोलीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।