नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । आज (शुक्रबार) सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
उक्त प्रकरणमा यसअघि एक जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए । आज चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए ।
चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता अघि एक सय किलोभन्दा बढी सुन बरामद भएको थियो ।