अनाम शर्मा
काठमाडौं, २८ साउन ।
नेपाली राजनीतिमा देखिएको सबैभन्दा ठूलो समस्या भनेकै नेता वा नेतृत्वलाई गरिने देवत्वकरण हो । जुनसुकै पार्टीको अमुक व्यक्ति जब नेतृत्वमा पुग्छ, त्यसलाई कुनै एउटा झुण्ड वा एउटा समूहले देवत्वकरण गरिदिन्छ । व्यक्ति स्वयम् पनि नेतृत्वमा पुगेपछि आफूलाई विशेष ठान्न थाल्छ । नेतृत्वमा पुगेपछि व्यक्तिले आफूलाई विशेष ठान्ने र स्वार्थ समूहहरूले पनि उसलाई रिझाएर आफ्नो स्वार्थसिद्ध गर्न उसलाई ‘तिमी महान् छौं, तिम्रा अगाडि अरू सबै भुसुना हुन्’ भनिदिएपछि नेतृत्व आफ्नो विगत र आफूले टेकेको धर्ती बिर्सेर क्रमशः निङ्कुश तानाशाहको बाटोतिर अग्रसर हुन थाल्छ ।
जब एउटा सामान्य व्यक्तिलाई नेतृत्वमा पुगेकै आधारमा देवत्वकरण गरिइन्छ, त्यसपछि उसलाई पनि आफू साँच्चीकै देवताको अवतार नै भएको भ्रम पर्न थाल्छ । उहिले देउवा, ओली, नेपाल, भट्टराई, खनाल आदिलाई यस्तै लागेको थियो होला, अहिले दाहाललाई पनि लागेको हुन सक्छ । देवता नै भइसकेपछि उसलाई जे गर्न र जे बोल्न पनि छुट हुने नै भयो । देवताले गल्ती नै गर्दैनन्, यदि गरे भने पनि त्यो देवताले लोकलाई देखाउन गरेको ‘लीला’ मात्र हुन्छ ।
देवतारूपी नेताको आकांक्षाहरू बढ्दै जाँदा मर्यादाका सीमाहरू अतिक्रमण हुन थाल्छन् र उसलाई देवताबाट दानवमा परिणत हुन समय लाग्दैन । र, त्यस दानवी रूपलाई पनि उसको परिभाषामा देवताकै नयाँ संस्करण मानेपछि स्थिति झन भयानक बन्न थाल्छ र आम मानिसको जीवन कष्ठकर बन्दैजान्छ । अहिलेको नेपालको स्थिति यही हो ।
स्वार्थ समूहको दास मनोवृत्ति र नेतृत्वको उच्चाकांक्षा नै निरङ्कुशताको जग हो । कार्यकर्ताले आफ्नो विवेक नगुमाउने हो भने नेतृत्व आफैं आफ्नो साइजमा आउने थियो । तर कार्यकर्ताको अन्धभक्तिले गर्दा नै नेतृत्वले आफ्नो हैसियत बिर्सेर आफूलाई महान् र विशेष सम्झने हो ।
यदि कुनै नेतृत्वले यस्तो दुःस्वप्न देख्नु अघि नै असल कार्यकर्ताले उसलाई व्युँझाइदिने हो भने ऊ निरङुशताको बाटोमा जाने घृष्टता नै गर्दैनथ्यो । गए पनि एक्लै हुन्थ्यो । तर अन्धभक्तिमा लीन कार्यकताले नेतृत्वलाई व्युँझाउने कुनै प्रयास गर्दैनन्, बरू उसलाई देवता मानेर पूजा अर्चना गर्न थाल्छन् । त्यसैले कुनै नेतृत्व गलत हुनुमा ऊपछाडि रहेका कार्यकर्ताको पनि अहम् भूमिका रहने गर्दछ ।
नेपाली राजनीतिको विभिन्न कालखण्डमा पनि नेतृत्वले पटक पटक बाटो बिराएको छ । कार्यकर्ता र मतदाता मौन बसिदिँदा देशले सास्ती खेपेको छ । जनताको धैर्यतालाई नेतृत्वले जहिले पनि कमजोरी ठान्ने गरेको छ । अनि, जब भ्रष्टाचार र लुटतन्त्रमा डुबेको कुनै नेतृत्व मञ्चमा पुगेर आफ्ना विरोधीहरूलाई तल्लो स्तरको भाषा प्रयोग गरेर गाली गलौच गरिरहेको हुन्छ, हामी विवेक शून्य बनेर ताली बजाइदिन्छौं ।
गाली गर्नुपर्ने अवस्थामा ताली बजाइदिएपछि नेतृत्व झन् हौसिन्छ र ताण्डव नृत्य देखाउन थाल्छ । ऊ आफ्नो हैसियत बिर्सन्छ र बर्बराउन थाल्छ । उसको बर्बराहट न देशका पक्षमा हुन्छ, न जनताका पक्षमा । तैपनि एउटा स्वार्थ समूहले भनिदिन्छ– क्या बोलिबक्सियो महाराज, विरोधीको ओठ तालु सुक्यो होला ।’
पञ्चायतकालमा पनि विरोधी स्वरहरूलाई ‘मुठ्ठीभर व्यक्तिहरूको अरण्यरोदन’ भन्थे । कालान्तरमा त्यही ‘मुठ्ठीभर’ शक्तिले सत्ता उल्टाइदियो र पञ्चायतलाई लगेर इतिहासको अँध्यारो कोठामा थन्क्याइदियो । तर इतिहासबाट हामीले केही सिकेनौं । मुखले लोकतन्त्रमा जनताको स्थान सर्वोच्च हुन्छ भनिए पनि व्यवहारमा भने ‘जनतालाई जे गरे पनि हुन्छ’ बनाइरह्यौं । नेता जनताका सेवक होइन, जनता चाहिँ नेताका सेवक बनिरहनुपर्ने अवस्थाको सिर्जना गर्यौं ।
हामीले नेतालाई देवत्वकरण नगरी नेताकै तहमा मात्र राखेर राम्रो कामको प्रशंसा र गलत कुराको रचनात्मक विरोध गर्ने हो भने नेपालमा अहिले देखिएको बेथिति लयमा फर्किन समय लाग्ने थिएन । विधि, पद्दति र प्रणालीलाई सही दिशातिर फर्काउने हो भने नेतालाई मात्र गाली गर्ने परम्पराको क्रमभङ्ग गरिनुपर्छ । जनता जाग्नुपर्छ । कागले कान कोट्याएको हो कि खुन चुसेको हो थाहा पाउनुपर्छ । हामी जबसम्म नेतृत्वले गरेको गल्ती कमजोरीलाई हामी ढाकछोप गरिरहन्छौं तबसम्म न नेतृत्वमा सुधार आउँछ, न देशले समृद्धि हासिल गर्छ । अनि हाम्रो पुस्ताले मात्र होइन, आउने पुस्ताले पनि यही नियति भोग्नु पर्नेछ ।