सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्री ओखलढुङगा घर भई सोही नगरपालिका-८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट आमाछोरा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई कृष्ट अस्पताल लगेकोमा उपचारको क्रममा प्रियांशको मृत्यु भएको हो । घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



त्यस्तै सिरहा, लहान नगरपालिका-२० बथनाहा चोकस्थित सडकमा स.८ प ७४७ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सखुवानान्कारकट्टी गाउँपालिका-४ बस्ने ४५ वर्षीय अनुरुद प्रसाद यादवको मृत्यु भएको छ । साढेसँग मोटरसाइकल ठोक्किँदा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार