नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ सहित १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।