आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।



यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार