नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदौ ।
मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (मंगलबार) बाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९.१ ओभरमा ८४ रनमा समेटिएको थियो । हङकङका लागि का इङ चानले ३४ र शिंग चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सीता रानामगर ५ विकेट लिइन् भने इन्दु बर्माले २ विकेट लिँदा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेको भागमा समान १-१ विकेट रह्यो ।
८५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित रहँदै ३६ रन बनाइन् भने पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रन जोडिन् । हङकङका लागि इक्रा सहर, मिरिको एओटा, बिबी मर्याम र का इङ चानले समान एक विकेट लिए ।
अब नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यस्तै महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलेका हुन् ।