नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । महोत्तरी, जलेश्वर नगरपालिका-९ प्रकौलीमा बा.२ क १५३६ नम्बरको स्कुल बसले ज.८ प ९२६७ नम्बरको मोटसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-१ स्थित सडकमा ना.६ ख १५०० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया होममाया मगरको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोसित व्यक्तिहरुले ट्रकमा गरेको आगजनी दमकलको सहयोगमा नियन्त्रण गरिएको छ । यस्तै बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी-५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको थियो । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।