नवराज घिमिरे
काठमाडौं, ११ भदौ ।
ककनी स्ट्रबेरी खेतीमा प्रख्यात छ । यस क्षेत्रका धेरै युवाहरूको यो खेतीमा आर्कषण बढ्दो छ । अहिले एक घर, एक स्ट्रबेरी खेती जस्तै भएको छ ककनी । वैदेशिक रोजगारीको मोह त्यागेर आधुनिक तवरबाट स्ट्रबेरी खेतीमा लागेका किसानमध्ये छेसाङ तामाङ सफल किसानको रूपमा चिनिन्छन् ।
छेसाङले १०-१२ रोपनी जग्गामा स्ट्रबेरी खेती गरेका छन् । उनले नमुन्चेत स्ट्रबेरी कृषि फार्म दर्ता गरी व्यवसायिक रूपमा यो खेती शुरू गरेको पनि ५ वर्ष भयो । राम्रै आम्दानी गरेको छु । मेरो जिबनको उर्जासिल समय सबै यसै खेतीमा लागेको छ । उनी यस पेशाबाट सन्तुष्ट भएको बताउँछन् ।
छेसाङ धेरैका लागि उदाहरणीय पात्र बनेका छन् । नेपालमा स्ट्रबेरीको माग र बजार मूल्य राम्रो हुँदै गएका कारण यो खेतीमा कृषकहरूको आकर्षण बढेको उनी बताउँछन् ।
स्ट्रबेरी एक प्रकारको फल हो । यो पाकेपछि रातो हुन्छ । यसबाट जुस, जाम र वाइनहरूसमेत उत्पादन हुने भएपछि अन्तर्राष्ट्रिय बजारमा यस फलको लोकप्रिय बढ्दै गएको मानिन्छ । यो अर्गानिक भएको कारण स्वास्थ्यबद्र्धक छ । यसबाट बन्ने वाइन, जुस र जामहरूको विदेशी बजारमा ठूलो माग छ । छेसाङ भन्छन्– ‘मेरो आम्दानीको ठूलो स्रोत नै स्ट्रबेरी खेती बनेको छ । स्ट्रबेरी खेतीकै कारण ककनीका धेरै कृषकहरू आर्थिक रूपमा सबल हुन पनि सकेका हुन् ।
समाज सेवा र राजनीति दुबैमा लगाब भएका छेसाङ ककनीबासीका लागि सफलताको राम्रो उदाहरण बनेका छन् । उनको निरन्तरको कर्म, लगनशीलता र मेहनतको फल नै आजको सफलता भएको उनी ठान्दछन् ।
नुवाकोटको ककनीमा उत्पादन भएको स्ट्रबेरी काठमाडौंमा मात्र सीमित छैन, काठमाडौंबाहिर पोखरा, चितवन, भैरहवा, विराटनगर लगायत नेपालका सबै शहरहरूमा यसको माग बढदै गएको । अन्तर्राष्ट्रिय बजार भारत, जापान, अमेरीका र यूरोपको शहरहरूमा समेत निर्यात हुने गरेको छेसाङ बताउछन् । उनी आफूले स्ट्रबेरीको बिरूवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको, ककनीमा ५० लाख स्ट्रबेरीको बिरूवा रोप्ने योजना रहेको र १ लाख ६० हजार बिरूवा उत्पादन गर्ने लक्ष्य रहेको बताउँछन् ।
छेसाङ थप्छन्– स्ट्रबेरी खेतीबाट वार्षिक रूपमा सबै खर्च कटाएर १० लाखसम्म बचत हुने गरेको छ । यस खेती बढेसँगै ककनीमा रोजगारीको समेत सिर्जना भएको उनी दाबी गर्छन् । उनी भन्छन्– यस क्षेत्रमा उत्पादन भएको स्ट्रबेरीको ८० प्रतिशतसम्म भारतमा निर्यात हुन्थ्यो तर अहिले नेपालमा पनि माग बढेका कारण ५० प्रतिशत मात्रै भारतमा जान्छ ।
नुवाकोट र काठमाडौंको सिमाना ठूलोखोलादेखि काउलेथान क्षेत्र स्ट्रबेरी जोनका रूपमा प्रख्यात छ । अन्य खेतीको भन्दा दोब्बर, तेब्बर आम्दानी हुने भएकोले स्ट्रबेरी खेतीमा आकर्षण बढेको छेसाङ बताउँछन् ।
स्ट्रबेरी एकपटक रोपेपछि ६÷७ महिनासम्म निरन्तर फल दिन्छ । कात्तिकदेखि फल्न सुरू हुने स्ट्रबेरीले वैशाखको दोस्रो सातासम्म उत्पादन दिन्छ । ककनीमा २०४६ सालदेखी स्ट्रबेरी खेती गर्न थालिएको हो । ककनी पर्यटकीय नामले चितपरीचित ठाउँ पनि हो । केन्द्रीय राजधानी काठमाडांैबाट केवल १२ किलो मिटर दूरीमा रहेको ककनी सुन्दर र रमणीय पनि छ । ककनीमा काठमाडौंलगायत धेरै ठाउँका मान्छे घुम्न जानेको लर्को भेटिन्छ । प्रायजसो शनिवारका दिन स्कूल–कलेजका विधार्थीहरू पिकनिक जाने स्र्पटको रूपमा पनि ककनी परिचित छ ।
स्ट्रबेरी खेतीले हाल ककनी थप चर्चामा छ तर पनि विकास र पूर्वाधारका हिसाबले भने यो क्षेत्र केही पछाडि नै छ भन्दा हुन्छ । नुवाकोटबाट प्रतिनिधित्व गरेर सांसद र मन्त्री हुनेहरूको नाम लामै छ तर जनप्रतिनिधिहरूको वेवास्ताका कारण यो क्षेत्र पछि परेको हो । ककनीलाई विकास र समृद्धिसँग जोड्न सके यस ठाउँको विकासका साथै यहाँका स्थानीय बासिन्दाको जीवनस्तर पनि माथि उठाउन मद्दत पुग्ने थियो । अतः ककनीलाई पर्यटकीय क्षेत्रका रूपमा थप विकास गरी स्ट्रबेरी हब बनाउन सम्बन्धित निकायको ध्यान जान जरूरी देखिन्छ ।