नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।
मलेसियामा जारी आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । बिहीबार बिहान भएको खेलमा नेपालले मलेसियालाई पाँच रनले पराजित गरेको हो ।
मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपालको लागि ने ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित रहँदै ३८ रन बनाइन् भने अप्सरी बेगमले १७ २ कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाकी एना हमिजाले २ विकेट लिइन् ।
८५ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन मात्र बनायो । मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन् । नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २-२ लिए भने रुबिना क्षेत्री र अस्मिना कर्माचार्यको भागमा समान १-१ विकेट रह्यो ।
यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।