नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
मलेसियामा जारी आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको नेपालले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालले बहराइनमाथि १० विकेटको सानदार जित निकालेको हो ।
मलेसियाको सिलोंग्र ट्रफ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने खुसी डंगोलले २ विकेट लिँदा पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरको भगमा समान १-१ विकेट रह्यो ।
३२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर कबिता कुँवरले १४ बलमा १८ रन बनाइन् भने ओपनर सिता रानामगरले ३ बलमा २ रन जोडीन् ।
अब नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा भदौ १९ गते युएईसँग खेल्नेछ । यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।