नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ सहित ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारीसहित ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस्तै झापा, दमक नगरपालिका-२ बस्ने रोजन गहतराजको सुन पसलमा जुवातास खेलिरहेको अवस्थामा गहतराज समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ९ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।