एनआर घिमिरे
काठमाडौं, १७ भदौ ।
शनिवार नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने सांसद र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटघाट सम्पन्न भएको छ । भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
नुवाकोट विकासको मेरुदण्डको रुपमा लिइएको पासाङ ल्हामु राजमार्गअन्तर्गतको तिनपिप्ले–पिपलटार सडकखण्डमध्येको पहिलो चरणमा तिनपिप्ले–रानीपौवाको लागि मात्र बजेट निकासा भएको हुँदा यही वर्ष नै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म कालोपत्रे गर्न गराउन प्रधानमन्त्रीसँग माग गरिएको थियो ।
प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको र उक्त बाटोलाई आन्तरिक स्रोत जुटाएर भए पनि यो वर्ष नै सम्पन्न गरिने विश्वास दिलाएका थिए ।
साथै, बञ्चरेडाँडा ल्याण्डफिल साइटले पारेको समस्या र त्यस भेगका नागरिकले भोग्नुपरेको समस्याका बारेमा र सरकारले पटक पटक स्थानीयबासीसँग गरेको सम्झौतालाई बेवास्ता गरेको विषय पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्रीबाट उक्त समस्याको बारेमा सम्बन्धित निकायसँग अबिलम्ब छलफल गरेर दीर्घकालीन समाधानको उपाय खोजिने भसोसा दिलाएका थिए ।
भेटघाट कार्यक्रममा सांसद अर्जुननरसिंह केसीले पासाङ ल्हामु राजमार्ग तथा बञ्चरेडाँडा ल्याण्डफिल साइटको बारेमा सरकार गम्भीर नहुने हो भने आफू सांसद भवनभित्र नै आमरण अनसन बस्ने चेतावनी दिँदा प्रधानमन्त्रीले त्यस्तो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।