एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग खेल्दै, विजेता टोली सुपर फोरमा पुग्ने    

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बलियो राष्ट्र भारतसँग खेल्दैछ । आज (सोमबार) श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । समूह ए बाट पाकिस्तानले यस अघि नै सुपर फोरमा स्थान बनाईसकेको छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।



नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

सम्बन्धित समाचार