नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
एसिसी एसिया कपअन्तर्गत नेपाल भारतसँग डिलएस पद्धतिमा १० विकेटले पराजित भएको छ । भारतसँग पराजित भए सँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले भने सोमपाल कामीले ४८ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३८ रन बनाई आउट भए भने दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाए । भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३-२ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको भागमा समान १-१ विकेट रह्यो ।
दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले अविजित रहँदै ७४ र शुभमन गिलले ६७ रनको अर्धशतकीय पारी खेले । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपाल अंक विहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह ए बाट पाकिस्तान शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।