नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । झापा, झापा गाउँपालिका-१ सितुमारीस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीया मन्जली हेमरन मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ तेह्रआडीस्थित कोशी नदीको बगरमा झापा दमक नगरपालिका-१ घर भई मदन भण्डारी ट्रमा सेन्टर अस्पताल उर्लाबारी मोरङमा कार्यरत ३२ वर्षीय डा. प्रज्वल कोइराला मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत भदौ ११ गतेदेखि सम्पर्क विहीन भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस्तै कास्की, पोखरा महानगरपालिका-५ पर्स्याङ चोकस्थित चौरमा धरान घर बताउने ४१ वर्षीय कुमार राई बुधबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, मध्यनेपाल नगरपालिका-३ स्कुलटारस्थित बाटो छेउमा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय मधुकर कुमाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङ, लमही नगरपालिका-२ बनकट्टा बस्ने ५७ वर्षीय गोपाल जिसी सोही ठाउँस्थित घुम्ना कुलोबाँधमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो घाँस काट्न खेतमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । उता रामेछाप, मन्थली नगरपालिका-११ पन्थलीस्थित तामाकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।