नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सडकमा सु.प.प्र.०१-००१ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ८६ वर्षीया छली देवी थापाको मंगलबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कास्की, पोखरा महानगरपालिका-९ नयाँबजारस्थित देउराली गौतम ट्रेडर्सको गोदाममा ग.१ क ३४८६ नम्बरको ट्रकमा ओट लगाउने क्रममा ट्रकले च्यापिएर चालक सोही महानगरपालिका-१७ ढुङगेसाँघु बस्ने ४८ वर्षीय राजु क्षेत्रीको बुधबार बिहान मृत्यु भएको छ ।
च्यापिएर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै झापा, गौरादह नगरपालिका-२ धिमधिमेस्थित सडकमा ना.४ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गौरादह नगरपालिका-३ बस्ने २९ वर्षीया पानबत्ती कर्मकारको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।