नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँगठोक्किएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए । त्यस्तै घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

