नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै आज राति लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ । वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा-हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

