नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा बडहरेस्थित सडकमा बा.३ ख ९७२६ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्नपूर्ण गाउँपालिका-४ भदौरे घर भएका ८० वर्षीया नौली विकको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ माईराम चोकस्थित सडकमा ना.६ ख २९९१ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया हरीमाया भडारीको शनिबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि कलैया अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

