नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बारा, निजगढ नगरपालिका-८ धनसारपुलस्थित सड्कमा म.प्र ०३-००१ ख ९३९६ नम्बरको बस आफैं अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा बसमा सवार सर्लाही हेमपुर नगरपालिका-४ कबिलासी बस्ने ५३ वर्षीय रामकेवल रायको मृत्यु भएको भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती अस्पताल निजगढ हुँदै मल्टिस्पर्श अस्पताल बिरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका बसमा सवार अन्य १० जनाको सामुदायिक प्रसुती अस्पताल निजगढमा उपचार भइरहेको छ भने ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
हाल फरार बस चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । त्यस्तै झापा, कनकाई नगरपालिका-८ सितल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-४ बस्ने ५४ वर्षीय देबराज सुबेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै डडेल्धुरा, अमरगढी नगरपालिका-१ स्याउलेस्थित सडकमा से.५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बैतडी पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका-५ कुसहवा चोकमा प्र.२-०४-००१ प ३२४३ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको ढल्केबर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

