सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । काभ्रे, धुलिखेल नगरपालिका-४ अठ्ठाइसकिलोस्थित सडकमा ना.७ ख ९७९८ नम्बरको ट्रकले बा.प्र.०२-०४२ प ८७०१ नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका-२ बस्ने २० वर्षीय विशाल तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता महोत्तरी, गौशाला नगरपालिका-२ निगौल स्कुल नजिक सडकमा गौशालाबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ४२५१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका-५ बस्ने १७ वर्षीय सोनु राउतको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई बिके अस्पताल गौशाला महोत्तरी हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ भने साइकलयात्रीको श्री रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यस्तै रूपन्देही, रोहिणी गाउँपालिका-६ ललितपुरस्थित सडकमा लु.६२ प ८६९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय मिन्टु यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी डडेल्धुरा, आलिताल गाउँपालिका-१ हगुल्टेमा धनगढीबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ४९६४ नम्बरको अटो सडकबाट अन्दाजी २ सय मिटर तल भिरमा खसेर बुधबार राति दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका-८ बस्ने २६ वर्षीय पदम बलायर र अटोमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय केशब महराको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी पर्सा, जगनाथपुर गाउँपालिका-४ हरपुरस्थित सडकमा बिआर २२ बिजि १८४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक भारत मोतिहारी बस्ने २५ वर्षीय रामधनी मुखिया बिनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता सर्लाही, बागमती नगरपालिका-८ गाँजली चोकमा बा.३०प ९४०७ नम्बर र ना.५९ प ५१७७ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा बा.३० प ९४०७ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय गणेश कुमार कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । ना.५९ प ५१७७ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार