सांसद गौत्तम र स्थानीयबासीबीच छलफल

सांसद सोबिता गौत्तम र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का स्थानीयबासीबीच शुक्रबार बिहान विविध विषयमा छलफल सम्पन्न भएको छ । स्थानीय अगुवा अनुप ढुङ्गानाले स्थानीयबासीले भोग्नुपरेका समस्याहरूलाई लिखित रूपमा नै सांसद गौत्तमलाई दिएका थिए ।

स्थानीयबासीले लामो समयदेखि भोग्नुपरेका समस्याहरू जस्तै ढल निकास, खानेपानीको समस्या, खहरे खोलाले बर्षेनी पुर्याउने गरेको समस्याको दीर्घकालीन समाधानको उपाय, बाटो तथा जहाजबाट हुने ध्वनि प्रदूषणको नियन्त्रणका लागि गर्नुपर्ने पहल आदि विषयमा मौखिक रूपमा पनि कुरा उठाएका थिए ।



छलफलमा सहभागी हुँदै सांसद गौत्तमले आफू सदैव आफ्नो निर्वाचन क्षेत्रका जनताको सुख–दुःखमा सँगै हुने बताइन् । उनले देशमा तीन तहका सरकार भएकोले काम गर्दैजाँदा कहिलेकाहीँ अधिकार क्षेत्रको विषय पनि उठ्ने गरेको प्रसङ्ग सुनाउँदै उनले एकपल्ट मेयर, वडाध्यक्ष, वडा सदस्यहरू सहितको छलफलको कार्यक्रम राखेर आफूलाई पनि बोलाउन र त्यस छलफलमा आफ्नो भूमिका देखिने विषयहरूकोे समाधानका लागि आफू सबैले अनुभव गर्न सक्ने किसिमले क्रियाशील भएर लाग्न बताएन् ।

एक प्रसङ्गमा सांसद गौत्तमले आफूले चुनेर पठाएका सांसदहरूले संसदमा गएर के–कस्तो भूमिका निर्वाह गरिरहेका छन् भनेर मतदाताहरूले चनाखो भएर निगरानी गर्न पनि सुझाइन् ।

 

सम्बन्धित समाचार