सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा मधेश प्रदेश-‍०२-००६ प ४८७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सिरहा लक्ष्मीपुर पतरी गाउँपालिका-२ बस्ने २३ वर्षीय आयुष कुमार रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सिरहा, सिरहा नगरपालिका-२२ सागरपुरस्थित सडकमा स.२ प ९६३६ नम्बरको मोटरसाइकल राँगामा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२२ हकपारा बस्ने १९ वर्षीय आशिष खानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।



यस्तै काभ्रे, भुम्लु गाउँपालिका-१० चौउन्न किलोस्थित सडकमा बा.प्र.०१-००३ क ९४५९ नम्बरको टिपर र बा.६९ प ५४७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका-११ बस्ने ३६ वर्षीय प्रेम कुमार वाईवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ स्थित सडकमा से.२ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक डडेल्धुरा आलिताल गाउँपालका-७ बस्ने २२ वर्षीय नबिन बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उता पर्सा, ठोरी गाउँपालिका-५ गुम्बालाईनस्थित सडकमा बीआर २२ जेड ०३८५ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीया कान्छी तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै लमजुङ, बेसीशहर नगरपालिका-७ गैरीधारास्थित सडकमा ना.४७ प ६४६९ नम्बरको मोटरसाइकल सडक छेउमा पार्किङ गरी राखेको ग.१त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ रानिकुवा डेरा गरी बस्ने झापा कोहबरा गाउँपालिका-१ घर भएका २५ वर्षीयको मनिष श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्की, मादी गाउँपालिका-५ बयरघारीस्थित सडकमा ग.१ त ७०६७ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल विजयपुर खोलामा खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार पोखरा महानगरपालिका-१३ बस्ने तनहुँ घर भएका २१ वर्षीय सुजन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक र ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बा.१७ प ७८८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय शैलेस बज्राचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार