नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालमा सु.प.प्र. ०२००१ क ४८८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय धनगिरी भुलको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरी, सुरुङगा नगरपालिका-४ कदमाहास्थित सडकमा रोकी राखेको प्र.२-०३-००१ ख ४३३५ नम्बरको ट्रकमा स.१ च ८९४ नम्बरको एम्बुलेन्स ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार बिरामी सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ बस्ने ६९ वर्षीय फुलेश्वर मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।