नेपालद्वारा मंगोलियालाई जितको लागि ३१५ रनको लक्ष्य, टी २० क्रिकेटमा नेपालको तीन विश्व कीर्तिमान  

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मंगोलियालाई जितको लागि ३१५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गरेको हो । टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाएको हो । यो टी २० मा सर्वाधिक रन हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध  टी २० मा २८७ रन बनाएको थियो ।



नेपालका लागि कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै अविजित रहँदै १३७ रनको शतकीय पारी खेले भने कप्तान रोहित कुमार पौडेलले ६१ रनको अर्धशतकीय पारी खेले । यसैगरी सबैभन्दा कम बलमा अद्र्धशतकको कीर्तिमान बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले १० बलमा लगातार ८ छक्काको मद्दतमा ५२ रनमा अविजित रहे । उनले ९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

३४ बलमा शतक पूरा गरेका कुशलले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् । यस्तै नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १९ र आशिफ सेख २६ रन बनाई आउट भए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै चीन पुगेको हो ।

सम्बन्धित समाचार