नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, कटहरी गाउँपालिका-४ चम्राई चोकमा प्र.१-०५-००१ ख ००७७ नम्बरको ट्रकले को.१३ प ३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुडीगंगा गाउँपालिका-१ बस्ने ३४ वर्षीय चन्द्रमणि अधिकारीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-१२ मसिनास्थित सडकमा भे.७ प ५८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाँउमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बैतडी, पाटन नगरपालिका-८ खोड्पे बैतडी सडक खण्डमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३७ वर्षीय नरेन्द्र सिंह महराको गएराति मृत्यु भएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । यता काभ्रे, बनेपा नगरपालिका-७ धनेश्वर गेटस्थित सडकमा बा.४ ख ९९७५ नम्बरको टिपरले बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोसी गाउँपालिका-८ खार्पाचोक घर भएका ३९ वर्षीय सिद्धि कुमार लामाको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिरमेमोरीयल अस्पताल बनेपा हुँदै अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रूपन्देही, रोहिणी गाउँपालिका-४ छिपागढस्थित सडकमा लु.८२ प ३३१९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजुरिया बस्ने ३० वर्षीय आशिष चौहानको मृत्यु भएको छ ।
ठक्करबाट घाइते भएका ३ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।