नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-२ स्थित चेतना जनजागृति सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मकवानपुर, ईन्द्रशरोवर गाउँपालिका-२ देवटार बस्ने ५३ वर्षीय भिमलाल स्याङ्तान आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, धरान उपमहानगरपालिका-११ कल्याण चोकस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका-८ डेरा गरी बस्ने धनकुटा महालक्ष्मी नगरपालिका-४ घर भएका ४५ वर्षीय भोलामान खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काभ्रे, बनेपा नगरपालिका-१ कलमसीस्थित प्लटीङ गरेको जग्गाको छेउमा सोही ठाउँ बस्ने सुदिप घिमिरेको घरमा खेतको काम गरी बस्ने सिन्धुली मरिन गाउँपालिका-५ घर भएका ५५ वर्षीय दुद्ध लाल थिङ शरीरमा चोट लागी मृत अवस्थामा आइतबार फेला परेका छन् ।
त्यसैगरी मोरङ, धनपालथान गाउँपालिका-४ हरकपुर बस्ने २८ वर्षीय पर्शुराम चौधरी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता गुल्मी, कालिगण्डकी गाउँपालिका-६ तुपुङ ढाबा बस्ने ८० वर्षीय यम बहादुर थापा सोही ठाउँस्थित पालुङ खोला नजिक जंगलको झाडीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
असोज ५ गते साँझ घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।