नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ६०० रहेकोमा शुक्रबार रु १ लाख ७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार १०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ६ हजार ८०० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ३३० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।