नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीसमेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन्।
उनले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन्।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै गृहमन्त्रीले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोवास, उपचार र सुरक्षाबारे चासो लिएका हुन्।
नेपाली राजदूत रिजालले घाइते एवं युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताएका छन्। त्यस्तै इजरायली राजदूत गदरले नेपालीलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन्।