विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो । अष्ट्रेलियाको लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनबनाए भने  डेविड वार्नरले ४१ रन जोडे । त्यस्तै मिचेल स्टार्क २८ रन बनाई आउट भए भने मार्नुस लबुसेनले २७, ग्लेन म्याक्सवेल र कप्तान प्याट कमिन्सले समान १५-१५ रन जोडे ।



बलिङतर्फ भारतको लागि रवीन्द्र जडेजाले ३ विकेट लिए भने कुलदीप यादव र जस्प्रित बुमराहले समान २-२ विकेट लिँदा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनको भागमा समान १-१ विकेट रह्यो । २०० रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४१ दशमलव दुई ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । २ रनमा ३ विकेट गुमाएको भारतको पारी विराट कोहली र केएल राहुलले सम्हालेका थिए । यी दुईले चौंथो विकेटका लागि १६५ रनको शतकीय साझेदारी गरे।

भारतका लागि केएल राहुलले अविजित रहँदै ९७ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ८५ रन बनाए । यस्तै हार्दिक पण्ड्या ११ रनमा अविजित रहे । त्यसअघि विराट कोहली ब्यक्तिगत १२ रनको अवस्थामा जिवनदान पाएका थिए । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर शुन्य रनमा आउट भएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट लिए भने तथा मिचेल स्टार्कको भागमा एक विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार दिउँसो सवा दुई बजे हैदराबादमा नेदरल्यान्ड्स र न्युजिल्याण्ड भिड्दै छन् ।

सम्बन्धित समाचार