विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित, श्रीलंका ६ विकेटले पराजित

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा  श्रीलंकालाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३४४ रन बनाएको थियो । श्रीलंकाको लागि कुशल मेन्डीसले १२२ र सदिरा समराविक्रमले १०८ रनको शतकीय पारी खेले भने पठुम निसान्काले ५१ रन जोडे । त्यस्तै धनञ्जय डी सिल्भा २५ रन बनाई आउट भए भने कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे ।



पाकिस्तानका लागि हसन अलीले ४ विकेट लिए भने हरिस रौफले २ विकेट लिँदा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानको भागमा समान १-१ विकेट रह्यो । ३४५ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो  । पाकिस्तानका लागि अब्दुल्लाह शफिकले ११३ र मोहम्मद रिजवानले अविजित रहँदै १३१ शतकीय पारी खेले भने इफ्तीखार अहमदले २२ रनमा नट आउट रहे । यस्तै शाउद सकलिले ३१ र इमाम उल हकले १२ रन बनाए । श्रीलंकाका लागि दिलशन मदुसन्काले २ विकेट लिए ।

जारी विश्वकपमा श्रीलंकाको यो लगातार दोस्रो हार हो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो भने पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

मंगलबारको खेलमा विश्वकप क्रिकेटमा पहिलो पटक एकै खेलमा ४ शतक प्रहार भए । श्रीलंकाका कुशल मेन्डिस र सदीरा समरविक्रमाले शतकीय पारी खेल्दा पाकिस्तानका अब्दुल्लाह शफीक र मोहम्मद रिजवानले शतक प्रहार गरे । यसअघि विश्वकप क्रिकेटमा ३ शतक सम्म प्रहार भएका थिए । त्यसैगरी एकदिवसीय विश्वकपमा पाकिस्तानले सर्वाधिक उच्च रन चेज गरेको छ । यसअघि आयरल्यान्डले इंग्ल्यान्ड विरुद्ध २०११ मा ३२९ रनको लक्ष्य चेज गरेको थियो ।

सम्बन्धित समाचार