नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियालाई १३४ रनले पराजित गर्दै प्रतियोगितामा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको हो ।
भारतको इकाना स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले १०६ बलमा १०९ रनको शतकीय पारी खेले भने एइडन माक्रमले ५६ रन बनाए । त्यस्तै कप्तान डेम्बा बभुमाले ३५, रसी भान डेर डुसेनले २६, हेनरिच क्लासेनले २९, डेभिड मिलरले १७ र मार्को जनसेनले २६ रन जोडे ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान २-२ विकेट लिए भने एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सको भागमा समान १-१ विकेट रह्यो । ३१२ रनको लक्ष्य लिएर मैदान उत्रिएको अष्ट्रेलिया ४०.५ ओभरमा अलआउट हुँदै १७७ रनमा समेटियो । उसका लागि मार्नु लबुसेनको ४६ रन नै सर्वाधिक रह्यो । यस्तै मिचेल स्टर्कले २७ रन बनाउँदा कप्तान प्याट कमिन्सले २२, डेभिड वार्नरले १३ स्टिभ स्मिथले १९ रन बनाउँदा एडम जम्पा ११ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाको लागि कागिसो राबडाले ३ विकेट लिए भने मार्को जनसेन, केशव महाराजा र तब्रेइज सामसीले समान २-२ विकेट लिँदा लुंगी गिडीका भागमा १ विकेट रह्यो । अष्ट्रेलियाको यो लगातार दोस्रो हार हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हराएको थियो । जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।