नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।


भारतमा जारी आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले प्रतियोगितामा तेस्रो जित हात पारेको हो ।
भारतको चेन्नईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४५ रनको बनाएको थियो । बंगलादेशका लागि मुसाफिकर रहिमले ६६ रनको अर्धशतकीय पारी खेले भने महमुदुल्लाहले ४१ रन बनाए । त्यस्तै कप्तान सकिब अल हसन ४० रन बनाई आउट भए भने मेहिदी हसन मिराजले ३०, तास्किन अहमदले १७, तान्जिद हसनले १६ र तोहिद हृदोयले १३ रन जोडे।
न्यूजिल्याण्डको लागि लोकी फर्गुसनले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २-२ विकेट लिँदा ग्लेन फिलिप्स र मिचेल सान्टनरको भागमा समान १-१ विकेट रह्यो । २४६ रनको लक्ष्य लिएर मैदान उत्रेको न्यूजिल्याण्डले ४२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्याण्डका लागि डयारेल मिचेलले अविजित रहँदै ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान केन विलियसनले ७८ रन बनाए । यस्तै डेवोन कान्वेले ४५ रन जोडे ।
बंगालदेशको लागि मुश्ताफिजुर रहमान र शकिब अल हसनले समान १-१ विकेट लिए । न्यूजिल्याण्डले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । यता बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा इङ्गल्याण्डसंग १३७ रनले पराजित भएको थियो । जितसँगै न्यूजिल्याण्ड ३ खेलमा ६ अंक जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको छ भने समान खेलमा १ जित र २ हारका सहित २ अंक जोडेको बंगलादेश अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

