कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

नेपाली कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुुख्यमन्त्रीमा नियुक्त भएका छन्  । आज (शनिबार) प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले ४७ जना सांसदले हस्ताक्षर गरेको पत्र प्रस्तुत गरे, जुन मुख्यमन्त्री पदको लागि बहुमत हो ।

कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । त्यसैले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा कार्कीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार मुख्यमन्त्री पदका लागि दुवै आकाङ्क्षी (कार्की र आङ्बो) को पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

 

सम्बन्धित समाचार