एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित 

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ३४ रन बनाउनु बाहेक बहराइनका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए भने दुर्गेस गुप्ताको भागमा ४ विकेट रह्यो   ।



७८ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि देव खनाल र अर्जुन कुमालले अविजित रहँदै समान ३२- ३२ रन बनाए भने ओपनर दीपक बोहराले ४ रन जोडे । बहराइनका लागि अन्स ओबैद सैइदले ३ विकेट लिए । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसीसी एसिया कप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार