नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।


नेपाल फिफा विश्वकप २०२६ फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको लाओसविरुद्धको खेलमा १-० को जित निकाल्दै समग्रमा २-१ को जित सहित नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा पुगेको हो ।
लाओसको घरेलु मैदान वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि मनिष डाँगीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ५३ औँ मिनेटमा मनिषले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल १-० ले आफ्नो पक्षमा पार्दै नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गर्यो । यसअघि नेपालमा भएको पहिलो लेगमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए ।
नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

